काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्री मण्डलमा नयाँ मन्त्रीहरु थप्दै भन्ने हल्ला चले पनि कुनै पनि नयाँ अनुहार मन्त्री मण्डलमा आएनन् । पुरानै मन्त्रीहरूलाई दोहोरिएका छन् । राष्ट्रपति शितल निवासमा पुरानै मन्त्रीहरूलाई पुनः जिम्मेवारी दिएका हुन् ।

उपपप्रधानमन्त्रीमा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठानागरिकमन्त्री जुलिकुमारी महतोले पुनः शपथ लिएका हुन् ।

प्रधानमन्त्री ओलीले तीनजना राज्यमन्त्रीलाई पनि पुरानै जिम्मेवारीमा दोहोर्‍याएका छन् । सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धर दोहोरिएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नवराज राउत दोहोरिएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको राज्यमन्त्रीमा विमला विक दोहोरिएकी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया