काठमाडौं – ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्।

अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना संक्रमित भएपछि उपचारको क्रममा अस्पतालमा छिन्। रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेलाई समेत कोरोना पुष्टि भएपछि उनीहरु सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत थिए।

झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए रोस्ती र उनका श्रीमान् दीपक। उनीहरु दुवैलाई अक्सिजन दिएर राखिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि ३० वैशाख राति अर्थात ‘प्रार्थना गर्नुस्’ भनेको ७ दिनपछि रोस्तीको निधन भयो।

जुन कुरा रोस्तीका श्रीमान दीपकलाई समेत जानकारी दिइएको थिएन। दीपक उपचारकै क्रममा चिकित्सकको निगरानीमा थिए। तर, श्रीमती रोस्तीको निधन भएको २४ घण्टा नबित्दै दीपकले समेत यो संसार छोडे।

पारिवारिक स्रोतका अनुसार रोस्ती ७ महिने गर्भवती थिइन्। ‘हिजो साइली बहिनी गर्भ मै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाई दीपक पनि यो दुनियाँबाट बिदा हुनुभयो, कति ठूलो बज्र प‍र्यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला,’ रोस्तीकी दिदी कल्पना काम्वाङले फेसबुकमा लेखेकी छन्।

रोस्तीको निधन भएको २४ घण्टा नबित्दै वैशाख ३१ गते शुक्रबार बिहान ज्वाई दीपकको पनि निधन भएको रोस्तीकी दिदी कल्पना काम्वाङले बताइन्। दुखान्त पनि कस्तो–कस्तो काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसारबाट बिदा हुने समय पनि एकैसाथ रोजे।

रोस्ती–दीपकको ६ वर्षकी सानी छोरी रसिया सुब्बा थेबे छिन्। आमाबुबाको माया पाउने समयमा उनीहरुले नै छाडेर गएपछि रसिया टुहुरो जस्तै बनेकी छिन्। त्यहि पनि उनले आफ्नो मनलाई दह्रो बनाएर फेसबुकमार्फत आमाबुबाको लागि शान्ति मिलोस् भन्दै प्रार्थना गरेकी छन्।

रसियाले आमाबुबा नै गुमाएपछि आमाबुवाको तस्वीर शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आत्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमाबुवा खुसीसाथ सँगै रहनुहोला, मेरो बारेमा चिन्ता नलिनु होला।’ रोस्ती र दीपकको निधनपछि यतिबेला सामाजिक सञ्जाल शोक सन्देशले भरिएको छ।

यस्तै मुटुरोगी रहेका दीपकका पिताको पनि दुई साताअघि मात्रै निधन भएको हो। बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा दीपकका पिताको मृत्यु भएको सिरिजंघा गाउँपालिका–१ की वडाध्यक्ष उर्मिला थेबेले जानकारी दिइन्।

यता, रोस्तीले मार्च २० मा आफ्ना श्रीमान दीपक सुब्बा थेबेसँग मन्दिर दर्शनपश्चात खिचेको तस्बिर फेसबुकमा पोष्ट गर्दै लेखेकी थिइन्, ‘सबैको मंगल होस्।’ जतिबेला नेपालमा समेत विश्व महामारीको रुपमा फैलिएको कोरोना प्रकोपको दोस्रो भेरियन्ट सुरु हुँदै थियो। ‘सबैको मंगल’ चाहने रोस्तीलाई कोरोनाले लिएर गयो। अनलाइनन्युज सेभेनबाट

तपाईको प्रतिक्रिया