काठमाडौं । नेपालको तर्फबाट कोरोनाभाइरस संक्रमण फैलने सक्ने बताउँदै चीनले सगरमाथा आरोहण स्थगित गरेको जनाएको छ । नेपालमा कोरोना संक्रमण दिनानुदिन बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित गरेको हो ।

सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो ।

नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सतर्क हुन चीनले उक्त निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ । उक्त प्रशासनले नेपालमा बढेको भाइरस संक्रमण र मृत्युदरलाई मध्यनजर गरेर उक्त निर्णय लिइएको जनाएको छ ।

चीनले ३८ जना चिनियाँ आरोहीलाई यो सिजनमा सगरमाथा आरोहणको अनुमति दिएको थियो । तर, नेपालले भने ४०८ जना आरोहीलाई अनुमति दिएको थियो ।

चीनले आरोहण स्थगित गर्ने निर्णय गरेपछि ती सबै चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ । चीनले भाइरस संक्रमणकै कारण विदेशी आरोहीलाई अनुमति दिएको थियो । उसले गतवर्ष पनि महामारीको कारण आरोहण बन्द गरेको थियो ।

चीनले गतसाता सगरमाथाको चुचुरोमा सीमा विभाजनको रेखा कोर्ने जनाएको थियो ।

तपाईको प्रतिक्रिया