काठमाडौं । आज जेठ २ गते । नेकपा एमालेको विद्रोही समूहले संस्थापन पक्ष(ओली) सँग २०७५ जेठ २ गते अघि फर्किनु पर्ने अडान राखिरहेका बेला आज राजधानीमा दुई समूहका नेताबीच बृहत् छलफल भएको छ । यो छलफलले अब पार्टीलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो लगाउन संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेताबीच भएको भेटमा नेपालले यसलाई वार्ता टोलीको नाम दिए । ओली पक्षबाट वार्ता टोलीको नेतृत्व सुवास नेम्वाङले गरेका छन्, जसमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल पनि छन् ।

त्यस्तै माधव नेपालको पक्षबाट भीम रावलले नेतृत्व गरेका छन् भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सद सदस्य छन् । दुवै पक्षको वार्ता टोलीलाई तीन दिनको समय दिइएको छ ।

वरिष्ठ नेता नेपालका अनुसार समय अपुग हुँदा थप गर्न सकिने छ । तर, जेठ ६ को राष्ट्रियसभा चुनावमा माधव नेपाल पक्षको भूमिका के हुने भन्ने बारे भने नेपालले कुनै प्रतिक्रिया दिएनन् । वार्ता टोलीले नै आफ्ना ६ बुँदे माग र जेठ २ मा पार्टीलाई फर्काउने मस्यौदा प्रस्ताव गर्ने छन् ।

वार्ता टोलीमा ओली पक्षको नेतृत्व गरेका नेम्वाङले यसबारे आफूहरूलाई जानकारी नभइसकेकाले औपचारिक जानकारी पाएपछि कार्यादेश र समयको बारेमा छलफल हुने बताए ।

माधव नेपाल पक्षले २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले फागुन २८ गते बैठक राखेर गरेका निर्णय खारेजी हुनुपर्ने र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने सर्त राखेको छ । तर, ओलीले फागुन २८ को निर्णयबाट पार्टी अघि बढिसकेको बताउँदै आएका छन् ।

यसअघि दुवै पक्षका नेताहरूबीच छलफलबाट जेठ २ कै वरपर रहेर पार्टीलाई अघि बढाउने अनौपचारिक सहमति भइसकेको छ । माधव नेपाल पक्षले जेठ २ अघिका पदाधिकारी यथावत हुनुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले स्थायी कमिटी पुनर्वहाली भए पनि अब महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष र महासचिवमात्र रहने बताउँदै आएको छ ।

तल्ला तहका कमिटीहरूको हकमा अझ बढी समस्या रहेकाले वार्ता टोलीबाटै आउने सुझाव र सहमतिका आधारमा अघि बढिने नेताहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया