काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा छ भने मृतकको संख्या पनि घट्दो क्रममा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । पीसीआर परीक्षण गर्दा संक्रमण केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७.४ प्रतिशत पुगेको छ ।

गौतमका अनुसार संक्रमितमध्ये देशभर १ हजार ३ सय १३ जना आईसीयूमा र ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ३ सय १६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज संक्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको पनि गौतमले जानकारी दिए ।

यसअघि शनिबार देशभर ८ हजार १ सय ६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४ सय ५५ जना निको भएका थिए । यस्तै मृतकको संख्या १ सय ८७ जना रहेको थियो । त्यसअघि शुक्रबार ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको थियो भने ६ हजार १ सय ३५ जना निको भएका थिए । यस्तै २ सय ३ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया