काठमाडौं । नेपाली कांग्रेसले ४२ जिल्लाका पार्टी कार्यालय भवनहरूलाई कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर उपलब्ध गराउने निर्णय जानकारी दिएको छ ।

सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी कांग्रेसको कोभिड– १९ अनुगमन समितिले मंगलबार गरेको प्रदेश १ का नेता कार्यकर्तासँगको छलफलमा सभापति देउवाले बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न माग गरेका छन् । केही महिनामै कोरोना भाइरसको तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराउँदै देउवाले सातवटै प्रदेशस्तरमा आवश्यक तयारीका लागि आग्रह गरेका हुन् ।

कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेको भन्दै देउवाले त्यसबाट बालबालिकालाई जोगाउन पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्ला सभापतिहरूले सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि काम गर्न नसकेको भन्दै कांग्रेसले त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने माग गरेका छन् ।

‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन् । म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विशेष वार्ड, आइसियूलगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

तपाईको प्रतिक्रिया