काठमाडौँ । उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो ।

निर्वाचन आयोगमा प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार एक उजुरीको निवेदन दर्ता भएको बताउँदै त्यसको अध्ययन हुने बताए । उजुरीमा उल्लेख भएका विषयको अध्ययन गरेपछि अन्य कार्य अघि बढ्ने पनि श्रेष्ठले बताए ।

नेपाली कांग्रेसले प्रधानमन्त्री र शिक्षामन्त्रीले वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको लागि जारी गरिएको मौन अवधिमा प्रचार गरेर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी दर्ता गराएको हो ।

वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त रहेको एक सिटमा आज मतदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया