काठमाडौं । कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाइको मृत्यु भएपछि बाँकेको एउटा गाउँ नै शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइको कोरोनाबाट ज्यान गएपछि गाउँ नै शोकमा डुबेको हो ।

मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइला ४८ वर्षका इम्तियाज अमहद, राइला ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छा जहिर अहमदको ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए । एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता हुन् भने इम्तियाजको लन्ड्री पसल रहेको उनको पारिवारिक स्रोतले बताएको छ ।

वैशाख २२ गते कान्छा जहिर, अर्को दिन २३ वैशाखमा एजाज र २४ वैशाखमा इम्तियाजको मृत्यु भएको बताइएको छ ।
आफ्ना ३ भाइको निधनको पीडाले ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भएको भतिजा सहनाज आदिलले जानकारी दिए ।

सहनाज आदिलका अनुसार हट्टाकट्टा आफ्ना काकाहरुको निधनले सुनारमण्डी टोल शोकमा डुबेको छ । कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले यो घटनाले स्तब्ध बनाएको छ। घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया