काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएकी छन् ।

राष्ट्रपति कार्यालयले हिजो बिहीबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम दलहरुलाई २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् ।

विज्ञप्तिमा आज जेठ ७ गते साँझ ५ बजेसम्म (२१ घण्टाभित्र)  विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ ।

प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उपधारा ५ मा छ ।

फेरि पनि विपक्षी गठबन्धनले आज शुक्रबार साँझसम्म दुई वा दुई भन्दा बढी दलको वहुमत पेश गर्नुपर्ने हुन्छ । जुन प्रयास यसअघि नै असफल भएर ओली नै प्रधानमन्त्री नियुक्त भएका थिए ।

यदि राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओलीकै नेतृत्वमा मुलुकमा चुनाव घोषणा हुनेछ ।

तपाईको प्रतिक्रिया