काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दाबी पेश गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरेका हुन् ।

राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ(आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् ।

साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिएका हुन् ।

ओलीले नेकपा एमाले र जसपाका १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन् ।

त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १ सय ४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

तपाईको प्रतिक्रिया