काठमाण्डौ । मध्यरातमा बालुवाटारमा मन्त्री परिषदको बैठक सुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी खारेज गरेपछि तल्काल बैठक सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति तोक्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को राति अबेर बसेको बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष गर्नुभएको थियो ।
पहिलो र दोस्रो चरणमा अर्काे प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सो मिति तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेबाट गएराति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ ।
त्यस्तै सभापति देउवालाई कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

राष्ट्रपतिले हिजो साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया