काठमाडौँ । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका विश्वराज पोखरेल दर्ज्यानी चिन्ह लगाएका छन् ।

नेपाल सरकार मन्त्रीपरिषद्को मङ्सिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल दर्ज्यानीय चिन्हद्वारा सुशोभित भएका हुन्।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए । संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उनले बताए।

उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे।

उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया