काठमाडौं । यही जेठ ७ गतेको राष्ट्रपतिको निर्णयविरुद्ध २५ वटा रिट सर्वोच्च अदालतमा पुगेका छन् । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने मागसहित रिट निवेदन लिएर जान नभ्याए पनि आज आइतबार केपी शर्मा ओली र शेरबहादुर देउवाको प्रधानमन्त्री दावी अश्वीकार गरेको निर्णयविरुद्ध दुईथरी रिट सर्वोच्चमा पुगेका छन् ।

सर्वोच्च अदालतले भने दुवैथरी रिट अध्ययनका क्रममा रहेकाले आज कुनै पनि रिट दर्ता नभएको जनाएको छ ।

अधिवक्ता कृष्ण भण्डारीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानको धारा ७६ (५) विपरित रहेको भन्दै रिट पेश गरेको बताए।

बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपनि त्यो नै आधिकारिक हुने भएकाले राष्ट्रपतिले एमालेका १२१ र जसपाका ३२ सांसदको दावी दुवै दलका अध्यक्ष तथा संसदीय दलका नेताबाट पेस भएकाले त्यसलाई मान्नुपर्ने जिकिर रिटमा छ ।

भोलि सोमबारै विपक्षी गठबन्धनले पनि देउवालाई प्रधानमन्त्री घोषित गर्न माग गर्दै रिट दायर गर्दैछ । यस्तै प्रकृतिका अन्य २४ वटा रिट पनि अदालतमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया