काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न निवेदन दर्ता गराएका हुन् ।

रिटमा संवैधानिक इजलासमार्फत निर्वाचनको घोषणा बदर गर्न अन्तरिम आदेश मागिएको छ भने देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ । रिटमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३ , जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर रहेको छ ।

तपाईको प्रतिक्रिया