काठमाडौँ । अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेपछि यो हप्ता आलोचना खेपिरहेका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछामलाई अक्सिजन खरिदका लागि एक लाख व्यक्तिगत सहयोग गरेका छन् ।

अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि मन्त्री आलेले अस्पताललाई आफ्ना तर्फबाट एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए ।

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अतुल भारद्वाजले बताए ।

मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा डोटी र कैलालीमा बाँडिएका सिलिण्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेको भन्दै यो हप्ता सामाजिक सञ्जाल र मिडियामा उनको निकै आलोचना भएको थियो ।

यद्यपि आलेले भने अक्सिजनका कारण नागरिकको ज्यान जान थालेपछि आफ्नो व्यक्तिगत पैसामा सिलिन्डर किनेर वितरण गरिरहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया