काठमाडौं । पत्रकारिताको मर्म विपरित युट्युबका माध्यमबाट गलत प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई आज बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारवाही गर्न माग गरेको हो ।

सङ्घका अध्यक्ष जीवन भण्डारीले युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्म विपरीत गरेकाले गलत गर्नेलाई कारवाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको बताए । अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकोमा पछिल्ला दिनमा ‘प्र्यान्क’का नाममा थप विकृति देखिन थालेको भन्दै सङ्घले काउन्सिलको ध्यानकर्षण गराएको हो ।

केही युट्युब च्यानलबाट अति उच्छ्रिङ्कल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्त विपरीतका सामग्री प्रसारण भइरहेको सङ्घले जनाएको छ । सङ्घले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी कानून र त्यसभन्दा बाहिरकालाई अन्य कानून अनुसार कारवाही गर्नरगराउन काउन्सिललाई आग्रह गरेको छ ।

सङ्घको ज्ञापनपत्र बुझेपछि काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारवाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाए । उनले पत्रकार आचारसंहिता मान्नुपर्ने आफूहरुको पहिलो शर्त हुने र नमान्नेप्रति कुनै सहानुभूति हुनै नसक्ने स्पष्ट पारे ।

अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको पनि बुढाथोकीले जानकारी दिए । सूचीकृत हुन नआउनेलाई काउन्सिलले नचिन्ने पनि बताए । उनले अनलाइन टिभीको क्षेत्रमा शुद्धीकरण र सुदृढीकरणका लागि सङ्घसँग सबै प्रकारका सहयोग, सहकार्य र समन्वय गर्न काउन्सिलले चाहेको जानकारी दिए ।

नेपालमा इन्टरनेटको माध्यमबाट प्रसारण भइरहेका अनलाइन टिभीमा देखिएका समस्या र विकृति न्यूनीकरण गर्न पहल गर्ने, यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरण गर्नेलगायतका उद्देश्यले सङ्घ गत वर्ष दर्ता भएको हो ।

तपाईको प्रतिक्रिया