काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

जानकारी अनुसार महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ ।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई वीर ५० वटा मनिटर उपलब्ध गराएका छौ भने आजै मात्र पनि हामीले महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । महानगरपालिकामार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरुको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका प्रमुख शाक्यले भने, ‘सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट संचालनमा ल्याइसकेको छ । कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि संचालन हुनेछ ।’ शाक्यले महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरुलाई पीसीआर मेसिन, मनिटर, र बेड उपलब्ध गराएको पनि जानकारी दिए। विभिन्न अस्पताललाई उपलब्ध गराएका मध्ये केही भेन्टिलेटर, पीसीआर मेसिनलगायतका सामग्री भगिनी सम्वन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरपालिकालाई सहयोग स्वरुप उपलब्ध गराएका हुन् ।

‘कोभिड संक्रमित बिरामी तथा आफन्तहरुलाई उपचारमा सहज होस भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएका छौँ,’ उनले भने, ‘बिरामीहरुलाई अस्पतालमा पुग्न सहज होस भनी कोभिड १९ का बिरामीका लागि फोन नं। १०२ मार्पmत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएका छौँ । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीहरुले सेवा प्राप्त गरिसकेका छन् ।’

४४ हजारको निशुल्क पीसीआर

हालसम्म महानगरपालिका क्षेत्रभित्र ४४ हजार बढीले निःशुल्क पीसीआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले जानकारी दिएको छ । ‘कोभिड–१९ को संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर सँगसँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टीजेन परीक्षण संचालन गरेका छौँ,’ उनले भने, ‘पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति, कोभिडको लक्षण देखिए पनि परीक्षण नगरेका लगायतलाई समेट्छौँ ।’

महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिशिल्ल खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको पनि जानकारी दिएको छ । प्रमुख शाक्यले जनचेतना अभिवृद्धिका लागि ४ वटा शिविर मार्पmत २४ हजारलाई प्रत्यक्ष सेवा उपलब्ध गराइएको, । जात्रापर्व (शिवरात्री र सेतो मछिन्द्रनाथ लगायत) मा घुम्ती स्वास्थ्य शिविर संचालन गरिएको र ५ वटा गाडीमार्फत टोल टोलमा माइकिङ्ग गरी स्वास्थ्य मापदण्डको पालना गराउन जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिए ।

कोभिड नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी माध्यम बनेका खोप सेवा नेपाल सरकारको निर्देशन अनुसार ६५ वर्षमाथिका करिब ६६ हजार जेष्ठ नागरिकलाई कोभिशिल्ड खोप, १८ देखि ५९ वर्ष समूहका १ लाख ३० हजारलाई भेरोसेल खोपको पहिलो डोज र १ लाखलाई दोस्रो डोज महानगरपालिकाकै व्यवस्थापनमा लगाउने कार्य सम्पन्न भइसकेको छ ।

३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा

त्यसैगरी काठमाडौँ महानगरपालिकाले अस्पतालमा अक्सिजनको चरम अभावको कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा ल्याएको पनि जानकारी दिएको छ । ‘महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुशी स्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजन सहित १ सय ७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छौँ,’ शाक्यले भन्नुभयो, ‘नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजन सहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटर सहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल संचालनमा ल्याइसकेका छौँ ।’

तपाईको प्रतिक्रिया