काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ । यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ ।

ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८(३), २५(१),(२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको आरोप लगाइएको छ । सोही आरोपमा यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेपनि उनले जवाफ दिएका छैनन् ।

पार्टीभित्र चर्किँदो विवादका बीच ठाकुर समूहले पनि उपेन्द्र यादवलगायतलाई स्पष्टीकरण सोधेको थियो । तर यादवले पनि जवाफ दिएका छैनन् ।

विवादको श्रृखंला स्पष्टीकरण हुँदै कारबाही गर्नेसम्मको अवस्थामा पुगेसँगै सो पार्टी विभाजनको डिलमा पुगेको छ।

तपाईको प्रतिक्रिया