धनगढी । आमाछोरीलाई जिउँदै जलाएर हत्या प्रयास गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले माग गरेको छ ।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति प्रहारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहारले घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेको हो ।

प्रहारका अध्यक्ष प्रकाश चन्दले मंगलबार प्रेस विज्ञप्ति जारी गरी घटनाको एक साता बितिसक्दा पनि हत्या प्रयास गर्ने संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै दोषी पहिचान गरी लक्ष्मीलगायत सिङ्गो समाजलाई कानुनी राज्यको महसुस दिलाउन माग गरेको छ ।

हेर्नुहोस् प्रहारले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ :

प्रेस विज्ञप्ति

मितिः २०७८ जेठ १८ गते मंगलबार

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारको गम्भीर ध्यानाकर्षण भएको छ ।
यही जेठ १२ गते आफ्नै पसलमा सुतिरहेका आमाछोरीमाथि रातको करिब साढे १२ बजेतिर अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएका थिए । कोठाभरी आगो दन्किएपछि काखमा छोरी च्यापेर बाहिर निस्किन खोज्दा हत्या प्रयास गर्ने व्यक्तिले उनी सुतेको कोठा बाहिरबाट बन्द गरिदिएको र उनी जोरजोरले चिच्याउन थालेपछि मात्रै छिमेकीले ढोका खोलेर उद्धार गरेका थिए ।

घटनालगत्तै लक्ष्मीलाई डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पतालले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनी पाँच दिनदेखि अस्पतालको बेडमा छट्पटाइरहिन् । अन्ततः हिजो जेठ १७ गते वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा नेपाली सेनाको हेलिकप्टरले उनको उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ ।

प्राप्त जानकारी अनुसार घटनालगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट फरार छन् । लक्ष्मी सन्तोष भाटकी जेठी श्रीमती हुन् र सन्तोषले लक्ष्मी र तीन छोरीलाई छोडेर तीन वर्ष अघि बहुविवाह गरी पछेरी गाउँ बस्दै आएका छन् । उनकी कान्छी श्रीमतीबाट एक छोरा छन् । घटनाको दिन जेठी छोरी अनु (७ वर्ष), माइली छोरी अनिशा (४ वर्ष) आमासँग नरहेको र २ वर्षकी कान्छी छोरी अन्जु मात्रै लक्ष्मीसँग रहेको थाहा भएको छ । कोठाभरी आगो सल्किदा अन्जुलाई लक्ष्मीले काखमा बोकेर आफ्नो शरीरको आगो निभाउने प्रयास गर्दा अन्जु सामान्य घाइते भएकी छन् ।

अतः घटनाको एक साता बितिसक्दा पनि अपराधी को हो पत्ता लाग्न सकेको छैन । केही समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी लक्ष्मीलाई आगो लगाएर छोरीसहित हत्या गरिन खोज्नु, घटनाको दिन कान्छी श्रीमतीसँगै रहेका श्रीमान् सन्तोष घटनालगत्तै फरार हुनु र लक्ष्मीको उपचार अभावमा ज्यान जान लाग्दासमेत सन्तोष सम्पर्कमा नआई बेखर हुनुले यो घटनामा सन्तोषलाई शंका गर्ने थुप्रै आधारहरु देखाइरहेको छ । तसर्थ लक्ष्मी र उनकी छोरामाथि यो घटना घटाउने अपराधीलाई तत्काल पक्राउ गरी दोषीउपर कडा भन्दा कडा कानुनी कार्वाही गरी लक्ष्मीलगायत सिङ्गो समाजलाई कानुनी राज्यको महसुस दिलाउन यो संस्था प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ ।

अध्यक्ष
प्रकाश चन्द
प्रहार

 

तपाईको प्रतिक्रिया