काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा पुनर्गठिन मन्त्रिपरिषदका ३ उपउप्रधानमन्त्रीसहित सबै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवासमा आज शुक्रबार साँझ ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पद तथा गोपनीयताको सपथग्रहण गराएकी हुन् । एमालेका दुई जना र जसपाका एक जना गरी तीन जना उपप्रधानमन्त्रीसहित ११ जना मन्त्री तथा दुई जना राज्यमन्त्रीले सपथग्रहण गरेका छन् ।

उपप्रधानमन्त्री पदको सपथग्रहण गर्नेहरुमा एमालेका तर्फबाट विष्णु पौडेल र रघुवीर महासेठ छन् भने जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।

जसपाका तर्फबाट उपप्रधानमन्त्री महतोसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीले सपथग्रहण गरेका छन् भने एमालेका शेरबहादुर तामाङले पनि सपथग्रहणसँगै स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

ओली नेतृत्वको सरकारमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजनामन्त्री वसन्त नेम्बाङले मात्रै निरन्तरता पाएका छन्।

सपथ लिने नयाँ मन्त्रीहरूः

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
शरतसिंह भण्डारी :  मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

शक्रबारको विस्तारपछि पनि गृहसहित केही मन्त्रालय अझै मन्त्री विहीन रहे । रामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् ।

हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नेछन् ।

तपाईको प्रतिक्रिया