काठमाडौं । हिजोमात्रै पुनर्गठित नयाँ मन्त्रीमण्डलमा उपप्रधान तथा शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि सामाजिक सञ्जालहरुमा उनको निकै आलोचना भइरहेको छ।

महतो भने आफ्नो भनाइमा अडिग छन् । उनलाई कसैको आलोचना र विरोधले टसमस गर्न सकेको छैन । बरु आज शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि पनि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’

नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय नभई सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्ने तर्क गरे। यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहनुपर्नेमा उनले जोड दिए ।

उनले थप अगाडि भने, ‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो ।’

तपाईको प्रतिक्रिया