काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि बटमलाइन तयार पारेको छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीसँग ६ बुँदे शर्त अघि सारेको छ । आज शनिबार बसेको माधव पक्षको स्थायी कमिटी बैठकले कारवाही फिर्ता नभई संस्थापन पक्षसँग वार्तामा नबस्ने निर्णय पनि गरेको छ ।

नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले ओलीसँग संघर्ष-एकता-रुपान्तपरण र निषेधको नीति लिने निर्णय गरेको बताइएको छ ।

अहिले ओलीसँग संघर्ष चलिरहेको, संघर्ष एकतामा बदलिएको खण्डमा र केपी ओली रुपान्तरण हुन चाहेमा एकता हुने नत्र निषेधको नीति लिएर विद्रोह गर्नुपर्ने नेपाल पक्षको निष्कर्ष छ ।

नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकताका लागि ओली समक्ष ६ बुँदे प्रस्ताव पारित गरेको ती सदस्यले बताए । उनका अनुसार पहिलो शर्त पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने हुनेछ ।

ओली त्यसमा सहमत भएमा त्यसै दिन जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने र त्यस बैठकले तल्ला कमिटीहरुको समायोजनका लागि कार्यदल गठन गर्नुपर्ने दुई प्रस्ताव हुनेछन् । त्यस्तै ओलीले नवौं महाधिवेशनको निर्णय र नीति मान्ने र सामुहिक निर्णयका आधारमा चल्ने प्रतिबद्धता जनाउनु पर्ने र प्रतिनिसभा विघटन गलत कदम भनेर स्वीकार गर्नु पर्ने शर्त समेत नेपाल पक्षले अघि सारेको छ । यी शर्तलाई प्रस्तावका रुपमा बैठकले तयार पारेपछि सार्वजनिक गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया