काठमाडौं । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए ।

एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै मन्त्री थापाको राजीनामा मागे । जनप्रतिनिधिहरुलाई अपमानित हुने गरी अदालतले करार पुष्टि गरिसकेका व्यक्तिलाई सरकारले मन्त्री बनाएर सभाको मर्यादामाथि नै प्रश्न उठेको भन्दै बैठकको सुरुमै नेता कँडेलले मन्त्रीको राजीनामा माग गरे ।

अपराध पुष्टि भइसकेका व्यक्ति सार्वजनिक पदमा बस्न नपाउने तर्क राख्दै कँडेलले सरकारले निर्णय नसच्याउँदासम्म बैठक अगाडि नबढ्ने अडान राखेका थिए ।

पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका उनी वैशाख ४ गते मन्त्री बनेका हुन् । फौजदारी अभियोग लागिसकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ । मन्त्री थापालाई अदालतले जेठ ३० गते बयानका लागि बोलाएको छ । एमालेको अवरोधपछि सभामुख राजबहादुर शाहीले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया