काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका उनले बताए ।

उनका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए । आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

केही दिनअघि मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट लेकवेशी नगरापालिका हुँदै बसाइँ सरेर राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ को आँपसोतीमा बसेका थिए । कर्णाली प्रदेश सरकारले राउटे समुदायमा कुनै संकट पर्न नदिन, पीडित किशोरीलाई काउन्सिलिङ गरी स्वास्थ्य उपचार गर्न मनाउनलगायत अन्य काममा सहजिकरण गर्नका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार एकरदुई दिनमै किशोरीको स्वास्थ्य परीक्षण हुनेछ ।

यसैबीच, राउटे किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै तीन युवकविरुद्ध आवाज संस्था सुर्खेतले किटानी जाहेरी दिएको छ । पीडितको पक्षबाट जाहेरी दिने कोही नभएपछि किटानी जाहेरी दिएको आवाज संस्थाको कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिइन् । घटनाको अनुसन्धानका क्रममा पीडित पक्ष चाहिने भएपछि आफूहरुले पीडित पक्षबाट उजूरी दिएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया