काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि आज मंगलबार प्रदेशसभामा भएको मतदानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए भने विपक्षमा ९ मत परेको छ । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । ओली पक्षका सात जनाले एमाले प्रदेश संसदीय दलको निर्णय उल्लंघन गरेका हुन् ।

भट्टलाई आफ्ना पक्षमा बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमालेको खनाल-नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् । मतदानमा ५२ जना सांसद नै उपस्थित थिए ।

कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।

विश्वासको मत प्राप्त गरेलगत्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसको थप संस्थागत विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया