कथा

शिवजीको मन्दिरबाट अचानक त्रिशूल हरायो । त्रिशूल कसरी हरायो ? कसले लग्यो ? कहाँ पुरयायो ? कसैलाई केही पत्तो भएन तर यसरी मन्दिरबाट अचानक त्रिशूल हराएपछि सहरवासी आतङ्कित भए ।

सहरको बीचमै एउटा चोकमा शिवजीको त्यो प्राचीन मन्दिर थियो । मन्दिरसँग जोडिएको एउटा किंवदन्ती प्रचलित छ । त्यो किंवदन्ती मात्र होइन, सहरवासीको आस्थासँग नछुट्टिने गरी गाँसिएको विश्वास पनि हो । विश्वासले भन्छ – शिवजीको त्यो त्रिशूल सहरको संरक्षक पनि हो । त्रिशूल हराउँदा सहरमा वा सहरवासीमा ठुलो अनिष्ट र सङ्कट आइपर्ने सहरवासीको विश्वास छ ।

सहरका धार्मिक व्यक्तिहरू भन्छन् – ‘सहरको रक्षाका लागि पौराणिक कालमा भगवान् शिवजी आफैले उक्त त्रिशूल त्यस मन्दिरमा राखेका हुन् ।’ कैलाश पर्वतमा बस्दा–बस्दा दिक्क लागेपछि देवी पार्वतीसँगै विहारमा निस्किएको बेला उनी त्यहाँ आइपुगेका थिए । सहरको प्राकृतिक वातावरणले मोहित भएका शिवजीले सहरको सुरक्षाका लागि त्यसै बेला मन्दिरमा त्रिशूल राखिदिएको जनविश्वास अहिले पनि कायमै छ ।

१९९० सालमा पनि मन्दिरमा यसै गरी त्रिशूल हराएको थियो । त्यति बेलापनि सहरवासीहरू यसै गरी आतङ्कित भएका थिए । अब के अनिष्ट हुने हो ? सहरमा आइपर्ने सम्भावित अनिष्टलाई रोक्न त्यस बेला थुप्रै धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएका थिए । सप्ताह पुराणहरू लगाइएका थिए, विधिपूर्वक पूजा–अर्चनाहरू गरिएका थिए, मन्दिरहरूमा दीप प्रज्ज्वलित गरिएका थिए । साधु र योगीहरूलाई श्रद्धापूर्वक भोजन गराइएको थियो, पण्डितहरूबाट गीता पाठ गराइएको थियो । हरेक सायंकालमा घर–घरमा आरती गरिन्थे, हरेक ब्रह्म मुहूर्तमा घण्टाको तुमुल ध्वनिले सहरको वातावरण गुञ्जायमान हुन्थ्यो ।

तर सहरवासीका सबै प्रयत्नहरू निष्फल भए । ती धार्मिक अनुष्ठानहरू सहरलाई सम्भावित अनिष्टबाट जोगाउन सफल भएनन् । भनिन्छ – मन्दिरबाट त्रिशूल गायब भएकै कारण ९० सालको महाभूकम्पको प्रकोप त्यस सहरमा सबैभन्दा बढी परेको थियो ।
आफ्ना क्रुर पञ्जाहरूको आक्रमणबाट सहरको अस्तित्वलाई नै तहसनहस पारेर महाभूकम्प विदा भयो । थुप्रै मानिसहरू मरे, कयौँ घाइते भए । घरबारविहीन हुनेहरूको संख्या उत्तिकै थियो । अभिभावक गुमाएका महिला र बालबालिकाको बिचल्ली भएको थियो ।

जीवित सहरवासीहरू उद्धार कार्यमा लागे । भत्किएका घरका भग्नावशेषहरूबाट उत्खनन् गर्दै शवहरू निकालिए । एकैपटकमा दर्जनौँ शवहरू अन्तिम संस्कारका लागि लहरै राखिन्थे । पुनःथप शवहरू उत्खनन् हुन्थे, घाइतेहरू अस्पताल पुरयाइन्थे । सहरका सबै अस्पतालहरू भरिएर घाइतेहरूलाई भुइँमै लडाइएको थियो । घरबार विहीनहरूका लागि चौरमा पाल झुण्ड्याइयो । सिङ्गो सहर अस्तव्यस्त भएको थियो । खाद्यान्नको जोहो गर्न त्यस्तै समस्या परेको थियो ।

कोही पनि शान्त थिएनन्, कसैको पनि विवेक स्थिर थिएन । अस्थिरता र सङ्कटको चपेटामा परेको थियो । सिङ्गो सहर लामो समय त्यसै भूकम्पको कहरमा थियो । त्यसको केही समयपछि सहरभन्दा केही पर चौबाटोमा त्रिशूल भेटियो । सहरवासी खुसी भए । उनीहरूले धार्मिक विधिपूर्वक त्रिशूललाई फेरि मन्दिरमा प्रतिष्ठापित गरे ।

अहिले फेरि त्यही त्रिशूल मन्दिरबाट अचानक हराएको छ । शिवजीको दर्शनका लागि बिहान सबैभन्दा पहिले मन्दिर पुग्ने भक्तले मन्दिरमा त्रिशूल देखेनन् । त्रिशूल राति नै गायब भएको थियो ।

मन्दिरबाट त्रिशूल गायब भएको खबर डढेलोको आगोझैँ सहरभरि तत्कालै फैलियो । अनेक थरी अनुमान र अड्कल, शङका–उपशङका गर्न थालिए । भय र त्रासको एउटा चिसो तरङ्ग शहरको धमनीमा दौडियो ।

सहरका जान्ने– बुझ्ने भद्रभलाद्मीहरू भेला भए । सम्भावित अनिष्टको भयले सबैको अनुहारमा औँशीको जून झुण्डिएको थियो । उनीहरूले बूढापाकाबाट ९० सालको घटना सुनेका थिए ।

त्रिशूल फेरि हराएको छ । अब के होला ? फेरि भूकम्प नै जाने हो कि ? वा बाढीले पो सहर नै बगाउने हो कि ? सबै आतङ्कित थिए ।
त्रिशूल कसरी गायब भयो ? कसले लग्यो होला त्रिशूल ?अनेक अनुमान प्रस्तुत गरिए । कसैले भने – तस्करहरूले लगे होलान् । कसैको विचार थियो –केटाकेटीले पो झिकेर खेल्न लगे कि?
जसले लगे पनि त्रिशूल हराएको थियो । त्रिशूल कतै फेला परेन । अब सहरमा ठुलो सङ्कट आइपर्ने निश्चित थियो ।
सहरमा फेरि सुरु भयो, धार्मिक अनुष्ठानहरूको लहर । आरती, पूजा, हवन र यज्ञको लहर । ग्रहदशाको शान्ति, साधु र सन्तहरूलाई भोजन, वेदपाठ…..।

धर्मवेत्ताहरूको परामर्शअनुसार जे–जति गर्नु पर्थ्यो, सहरवासीले सबै गरे तर के यसले सङ्कटलाई रोक्ला?
९० सालमा पनि त अनुष्ठानहरू भएका थिए तर सङ्कट रोकिएन । के यसपालि रोकिएला ?

यसपटक एउटा संयोग पनि जुरेको थियो । मन्दिरको त्रिशूलसँगै टोलको धने पनि वेपत्ता भएको थियो । त्यस दिनपछि कसैले पनि धनेलाई टोलमा देखेको छैन । रिक्साचालक धने हरेक साँझ साहुलाई रिक्सा बुझाएर मन्दिरकै बाटो फर्कन्थ्यो । दिनभरिको थकानलाई बिर्सन ऊ हरेक साँझ रक्सीले लर्बरिँदै फर्किन्थ्यो र शिवजीसँग एउटा छोरो माग्थ्यो । छोरोको आशमा उसकी स्वास्नीले छ वटा छोरी पाइसकेकी थिई ।
हरेक छोरीको जन्मसँगै धने अमिलो मन बनाउँथ्यो र साँझमा लर्बराउँदै मन्दिरमा पुग्थ्यो । फेरि शिवजीसँग आफ्नो लागि एउटा छोरो माग्थ्यो तर शिवजीले उसको माग कहिल्यै पूरा गरेन ।
शिवजीको त्यो मन्दिर प्रतापी मानिन्थ्यो । आफ्नो मनोरथ पूरा हुने आशामा धेरै टाढा–टाढाबाट मानिसहरू मन्दिरमा आउँथे । कतिले भाकल गर्थे, कतिले मनोकाङ्क्षा पूर्ण भएको खुसीमा भाकल चढाउँथे ।

सुरुमा त सहरवासी त्रिशूल मै अल्मलिए । धनेको विषयमा कसैको ध्यान गएन । बिस्तारै टोलमा धनेको अभाव खट्किन थाल्यो । हरेक साँझ रक्सी खाएर शिवजीलाई गाली गर्ने धनेको कर्कश आवाजको अभावमा टोलवासीले शून्य महसुस गर्न थाले ।

एक महिनापछि धने अचानक टोलमा प्रकट भयो । उसको मुद्रा विचित्रको थियो । कम्मरमा धोतीको सानो टुक्रा बेरेको थियो । जीउ भने नाङ्गै थियो । निधार र शरीरमा खरानी घसेको थियो । घाँटीमा प्लास्टिकको सर्प बेरेको थियो । दाहिने हातमा त्रिशूल बोकेको थियो । त्यही त्रिशूल जुन एक महिना अगि मन्दिरबाट हराएको थियो ।
साक्षात शिवजीको रूपमा ऊ सडकमा विशिष्ट लयमा हिँडिरहेको थियो । पछि–पछि केटाकेटी झुम्मिन थाले । ऊ हिँड्दै जान्थ्यो, केटाकेटीको लस्कर बढ्दै जान्थ्यो ।

हराएको त्रिशूल सहित धने टोलमा प्रकट भएको खबर एकै छिनमा सहरभरि फैलियो । सहरका जान्ने–बुझ्ने , भद्रभलाद्मी र सर्वसाधारण पनि आफ्ना सारा काम धन्दा छाडेर एकै छिनमा भेला भए ।
त्रिशूल भेटिएको खबरले सबैको अनुहारमा पूर्णिमा फर्किएको थियो । सबैले धनेलाई घेरे । चोकमै गोलो घेरा बनाएर धनेलाई बीचमा बसाइयो । धने पनि मानिसहरूको भीडले बनाएको गोलो घेराको बीचमा राखिएको कुर्सीमा मज्जाले बस्यो ।

कोही कुट्न तम्सिँदै थिए, कोही धनेलाई जथाभावी गाली गर्दै थिए । समाजका अगुवाहरू आक्रोशित भीडलाई थुम्थुम्याउँदै थिए, सम्झाउँदै थिए । धने भने यी सबै गतिविधिबाट अञ्जान झैँ निर्विकार भावले शान्त भएर बसेको थियो ।
समाजका अगुवाहरू प्रश्न गर्न थाले –

– ‘त्रिशूल किन चोरिस् ?’
– ‘त्रिशूल चोरेर कहाँ गएका थियौ ?’
– ‘फेरि किन फर्किएर आयौ ?’
– ‘यो तैँले के रूप बनाएको ?’
– ‘तिमीलाई शिवजीको डर लागेन ?’
…………………….
…………………….
प्रश्नहरू धेरै ओइरिए । धने भने शान्त थियो, चूपचाप । ऊ केही नबोली आफै भित्र हराइरहे झैँ ध्यानस्थ मुद्रामा थियो ।
– ‘किन बोल्दिनस् ?’ एकजना कड्कियो ।
– ‘चाँडो जवाफ दे, नत्र भेट्लास् ।’ अर्को उफ्रियो ।
उसले बिस्तारै नेत्र खोल्यो र एकपटक भीडमा आँखा दौडायो अनि मुसुक्क मुस्कायो ।
– ‘अझै नक्कल पार्छस् ? छिटो भन्, त्रिशूल किन चोरिस् ?’
उसले मधुरो स्वरमा भन्न थाल्यो – ‘मैले शिवजीसँग एउटा छोरो मागेँ । छोरो माग्दै म मन्दिरमा धाइरहेँ तर कहिल्यै पनि मेरो इच्छा पूरा भएन । मैले कहिल्यै पनि छोरो पाइनँ । यस्तो पच्छेपाती शिवजीको पूजा गर्नु भन्दा अब मेरो पूजा गर्न थालेँ। अब म आफैँ शिवजी भएको छु । अब कसैमाथि पच्छेपात हुने छैन ।’

तपाईको प्रतिक्रिया