काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए ।

नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् ।

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५/६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं। ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

विश्वासको मत गुमाएका पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि….

वैशाख २९ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् । शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

तर विश्वासको मत गुमाएका पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा दाबी गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको थियो । सबैले केन्द्रीय राजनीतिमा घटेको घटना गण्डकीमा दोहोरिने आशंका व्यक्त गरेका थिए ।

त्यसपछि विपक्षी गठबन्धनको बैठक बसेर सशरीर ३१ जना सांसद प्रदेश प्रमुख कार्यालयमा धर्ना दिन पुगेका थिए ।

अन्ततः प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता दिइनन् ।

 

तपाईको प्रतिक्रिया