काठमाडौं । बन्दाबन्दीका क्रममा प्रवासमा रहेका नेपालीहरूलाई सहयोग गर्ने क्रममा आफै कोरोना संक्रमित भई आईसीयूमा पुगेका प्रमोदसिंह साउँदले आफ्नो ज्यान जोगाइदिन सम्पूर्ण नेपालीमा अनुरोध गरेका छन् ।

गत वर्ष भारतमा कोरोना संक्रमण शुरु भएसँगै बन्दाबन्दी भएपछि समस्यामा परेका मजदुर तथा नेपालीहरूको उद्दार, राहत र उपचारमा दिनरात सक्रिय प्रमोद अहिले तेस्रोपटक कोरोना संक्रमित भई अस्पताल भर्ना भएका छन् ।

प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य एवम् उत्तर प्रदेश राज्य समितिका अध्यक्षसमेत रहेका साउँदले आफू तेस्रोपटक कोरोना संक्रमित भई अहिले लखनउस्थित देविना हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार गरिरहेको बताए ।

लखनउमा वर्षौदेखि सिताराम गेष्ट हाउस संचालन गर्दै आएका साउँदले गत वर्ष बन्दाबन्दीसँगै होटल व्यवसाय बन्द भएको र आफूसँग भएको जायजेथा पनि उत्तर प्रदेशमा रहेका नेपालीहरूको राहत, उद्दार र उपचारमा सकिएपछि अहिले समस्यामा पर्दा उपचारमा कठिनाई भएको दुखेसो पोखे ।

नेपाल र नेपाली भनेपछि हुरुक्क हुँदै तन, मन र धनसहित देश, देशवासी र प्रवासी नेपालीहरूको सेवामा समर्पित साउँदले आफूसँग भएको करिब १० लाख (भारतीय रुपैयाँ) आफ्नो र परिवारको उपचारमा सकिएपछि अहिले आफ्नो ज्यान जोगाउन सहयोगको याचना गर्नुपरेको बताए । उनले भने, ‘समस्यामा परेका हजारौँ नेपालीहरूलाई सहयोग गर्ने क्रममा आफै यो अवस्थामा पुगेछु, अब मसँग केही बाँकी रहेन । कृपया मलाई सहयोग गरिदिनुस् ।’ उनले सहयोग स्वरुप आफूलाई ऋण भए पनि उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

भारतमा अलपत्र परेका नेपाली मात्रै होइन, नेपालबाट दुःख पर्दा या अन्य सहयोगका लागि भन्दै आफ्नो सम्पर्कमा पुग्ने राजनीतिक दलका नेता, कार्यकर्ता, गाउँवासी, जिल्लावासीलगायतलाई आफूले अहिलेसम्म कति सहयोग गरेँ भन्ने कुराको लेखाजोखासमेत नभए पनि अहिले आफू अस्पतालको बेडमा एक मुठी सासका लागि लडिरहेको अवस्थामा विगतमा आफूले सहयोग गरेका व्यक्तिहरू कसैले पनि सहयोग नगरेको गुनासो पनि प्रमोदको छ ।

साउँदले आईसीयूबाटै पठाएको ‘भ्वाइस मेसेज’ मा भनिएको छ, ‘हुन त म जसरी पनि बाँच्छु होला भन्ने हिम्मत छ मनमा । तर केही गरेर म मरेँ भने नेपाल र नेपालीको सहयोग गर्ने मेरो कैयौँ सपनाहरू मसँगै मरेर जानेछन् ।’ अक्सिजन मास्क लगाइएको अवस्थामै अड्कीअड्की बोलिएको भिडियोमा उनले थप भनेका छन्, ‘म मरे पनि मेरो देश बाँचिरहोस् । जीवनको भिखसहित मागिएको यो सन्देश सम्पूर्ण नेपालीहरूमा पुरयाइदिनुहोला ।’

आफूजस्तो सच्चा देशभक्त, समाजसेवी नेपालीको प्राणका लागि कोही कसैले सहयोग गर्न चाहेमा आफ्नो नेपालस्थित सिद्धार्थ बैंक, धनगढी शाखामा रहेको खाता नम्बर ०१११५२७७७३५ रहेको पनि उनले बताएका छन् । यस्तै उनले भारतस्थित आफ्नो मोबाइल नम्बर ००९१–९८८९१४०७३८, ९४५४९५४८४८ पनि सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया