नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, नेपाली साहित्यमा चर्चित आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवम मुन्धुम दर्शनका आधिकारिक व्याख्याता बैरागी काइँलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । एक साताअघि मस्तिष्कघात भई ओम अस्पतालको आईसीयुमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो ।

बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य एवम साहित्य पद्य-काव्य विभागका प्रा डा हेमनाथ पौडेलका साथ ओम अस्पताल गई काइँलाको पछिल्लो स्वास्थ्य स्थिति बुझेका प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले काइँलाको शरीरको दायाँ भाग सुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको आफूले देखेको बताए । उनले भने– ‘आईसीयुबाट सामान्य वार्डको डिलक्स बेडमा सारिएका काइँलासँग भलाकुसारीसमेत भयो । काइँलाको मुहारमा उज्यालोपन र खुसी पनि देखियो ।’

यसअघि काइँला आईसीयुमा रहँदा कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्राध्यापक उपाध्यायले अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । काइँलाकी छोरी नामोतीले बुबाको स्वास्थ्यमा क्रमिकरूपमा उल्लेख्य सुधार आइरहेको बताइन् । काईला नेपाली साहित्यको प्रख्यात लेखक हुन ।

तपाईको प्रतिक्रिया