एजेन्सी । भारतको झारखण्डको जमशेदपुरमा ११ वर्षकी एक बालिकाको भाग्य १२ वटा आँपले बदलिदिएको छ । सडकको किनारमा आँप बेच्न बसेकी तुलसी अगाडि पढन चाहन्थिन् । महामारीका कारण भएको लकडाउनले सम्पूर्ण स्कूलहरु बन्द थिए र विद्यालयले अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका थिए । यसका लागि उनलाई एक स्मार्ट फोन चाहिएको थियो ।

कोरोनाका कारण उनका पिताको जागिर पनि गएको थियो । यस्तो अवस्थामा पनि ती बालिकाले हिम्मत हारिनन बरु आफ्नो बगैंचामा रहेको आँप सडक किनारमा बेच्न थालिन । उनले स्मार्ट फोन किनेर अनलाइन पढनका लागि आँप बेच्न थालेकी थिइन ।
यसरी पढाई खर्च जुटाइरहेकी ती बालिकाको तस्विर सामाजिक सञ्जालमा भाइरल भयो । तस्विर देखेर मुम्बईका एक व्यापारीले उनलाई सहयोग गर्ने मन गरे ।

बालिकाले बेच्न राखेका आँपहरुमा उनले १२ आँप लिएर र झण्डै दुई लाख नेपाली रुपैयाँ दिए । तुलसी नाम गरेकी ती बालिका आज उक्त पैसाले स्मार्ट फोन किनिसकेकी छन र अनलाइन कक्षा पढाई सुरु गरिसकेकी छन ।

बागुन्हातु सरकारी स्कूलमा उनी पाँच कक्षामा पढछिन। उनले आफ्नो पढाईका लागि आँप सडक किनारमा बेचेको तस्विर भाइरल भएपछि मुम्बईका व्यापारी अमेया हेतेले उनलाई सहयोग गर्ने ठाने र करीब २ लाख नेपाली रुपैया उपलब्ध गराए । त्यसबाट बालिकाले १३ हजार रुपैयामा स्मार्ट फोन किनिन।

परिवारले पढाई अगाडि बढाईरहुन भनेर उनको नाममा ८० हजार रुपैयाँ फिक्स्ड डिपोजिट गरिदिए । उनका लागि किताब किनियो र मोबाइलमा एक वर्षसम्मको रिचार्ज गरिदिइयो ।

बालिका तुलसी पढेर शिक्षिका बन्न चाहन्छिन । साथै उनी आफ्ना दुबै बहिनीहरुलाई पढाउन चाहन्छिन । तीनै जना दिदीबहिनी शिक्षिका बनेर गरीब बालबालिकालाई शिक्षा दिलाउने बताएकी छन ।

तपाईको प्रतिक्रिया