दाङ । तुलसीपुर उपमहानगरपालिकाले छोरीलाई आत्मनिर्भर बनाउनका लागि ‘स्मार्ट छोरी, सक्षम नारी’ भन्ने कार्यक्रम लागू गर्ने नीति ल्याएको छ । छोरीलाई सशक्तिकरण तथा बालविवाह न्यूनीकरण गर्नका लागि सो कार्यक्रम लागू गरेको हो । उक्त कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाभित्र जन्मिने बित्तिकै छोरीको बैक खाता खोल्न सम्बन्धित अभिभावकलाई लगाउने र प्रत्येक महिनामा उपमहानगरपालिकाले सो खातामा रु दुई सयका दरले रकम जम्मा गरिदिने व्यवस्था गरिएको उपप्रमुख माया आचार्यले जानकारी दिइन।

उनका अनुसार सो रकम २० वर्ष पूरा गरेपछि अविवाहिता छोरीले निकाल्न पाउनेछन। यसका लागि उपमहानगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । सो कार्यक्रमले छोरीलाई विशेष सम्मान र सुरक्षा प्रदान गर्नाका साथै बालविवाहमा कमी आउने महिला अधिकारकर्मी राधा पाण्डे बताउँछिन। उनी भन्छिन, “यसले छोराछोरीको विभेद पनि अन्त्य गर्नाका साथै उमेर पूरा नहुँँदै गाउँघरमा हुने विवाहलाई रोक्न मद्दत मिल्छ ।”

त्यस्तै लैङ्गिक हिंसामा परेका महिलाको उपचार तथा पुनस्थापनाका लागि उपप्रमुख महिला सुरक्षा आवास कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको तथा त्यसका लागि रु ५० लाख विनियोजन गरिएको छ । श्रमिक र सडक बालबालिकालाई उचित व्यवस्थापन गरेर तुलसीपुर उपमहानगरपालिकालाई सडक बालबालिका र सडक मानवमुक्त नगरका रुपमा घोषणा गर्ने नीतिलाई बजेटमा प्राथमिकता दिइएको छ । वादी, चमार, कुमाल, कुसुण्डा, गाइने जस्ता अल्पसङख्यक समुदायको जीविकोपार्जन तथा आर्थिक सामाजिक उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटसमेत व्यवस्था गरिएको छ ।

यसैबीच उपमहानगरपालिकाले यही असार १० गते नवौं सभामार्फत आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको रु तीन अर्ब ३९ करोड ९६ लाख १५ हजार बजेट सर्वसम्मतिले पारित भएको छ । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट सो उपमहानगरपालिकाले ल्याएको हो ।

उपमहानगरपालिकाले पारित बजेट तथा नीतिमा आन्तरिक स्रोतबाट रु ६० करोड, सङघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँटबाट रु दुई अर्ब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँडबाट रु नौ करोड ७८ लाख १९ हजार र अन्य सङघसंस्थाबाट प्राप्त रकमलाई समावेश गरिएको छ ।

गत वर्षलाई तुलना गर्दा आगामी वर्षका लागि रु एक अर्बभन्दा बढी बजेट ल्याइएको हो । चालु आवमा रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजार बजेट विनियोजन गरिएको थियो । ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैँको लागि’ भन्ने मूल अभियानका साथ ल्याइएको बजेट तथा नीतिमा भन्दा बढी स्वास्थ्य क्षेत्रका लागिरहेको छ । जसमा कोरोना नियन्त्रण र रोकथामका लागि पनि रहेको छ ।

त्यस्तै अति विपन्न परिवारलाई उपमहानगरपालिकाभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार गर्न उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको ५० शैयाको तुलसीपुर मेट्रो अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय तथा सर्वसुलभ बनाउन र कोभिडको तेस्रो भेरियन्टलाई दृष्टिगत गरी बालबालिकाको उपचार सेवा विस्तारका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको जनाएको छ ।

त्यस्तै कोभिड–१९ महामारीको सम्भावित तेस्रो लहरबाट नागरिकलाई सुरक्षित राख्नका लागि पूर्वतयारी तथा प्रतिकार्यका लागि नीति तथा बजेट ल्याइएको छ । सो कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । थारू समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगको उपचार सेवालाई प्रभावकारी बनाउने नीतिसहित बजेटमा छुट्याएको छ । साथै उपमहानगरपालिकाले यसपटकको नीति तथा बजेटमा कृषि, शिक्षा, गरिबी नियन्त्रण, सञ्चार र भौतिक पूर्वाधारलाई पनि प्राथमिकता दिएको छ ।

तपाईको प्रतिक्रिया