विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरस कोभिड—१९ सङ्क्रमणको कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा टेड्रोस अधानोमले १८ महिनादेखि कोरोना महामारीमा अग्रपङक्तिमा खटिरहेका विश्वभरका १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको जानकारी दिएको हो ।

सङ्क्रमितको पहिचान, उपचार नियन्त्रण र व्यवस्थापनमा खटिएका मध्ये हाल १० लाख कोरोना सङ्क्रमित रहेको समेत उनले बताए । २०२१ लाई स्वास्थ्य तथा स्याहारकर्मीको अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउँदा लैङ्गिक असमानताको मुद्दालाई प्राथमिकताका साथ राख्नुपर्ने उनको भनाइ थियो ।

‘विश्वभर कुल स्वास्थ्यकर्मीहरूको जनसंख्या मध्ये ७० प्रतिशत महिला स्वास्थ्यकर्मी छन्, जसमा करिब ९० प्रतिशत नर्स तथा मिडवाइफ र ५० प्रतिशत फिजिसियन रहेका छन्,’ उनेले भने, ‘विश्व स्वास्थ्य र हेरचाह महिला स्वास्थ्यकर्मी कै भरमा छ, महिला स्वास्थ्यकर्मीलाई हामीले कति सम्मान र महत्त्व दियौँ ?”

टेड्रोस अधानोमले महिला स्वास्थ्यकर्मीलाई समान सुविधा र महत्त्व दिनुपर्ने भन्दै उनीहरूमाथि हुने भेदभाव र हिंसालाई रोक्न सबै एकजुट हुनुपर्नेमा बिशेष जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया