कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दा युरोपियन देश इटालीले नसोचेकै स्थिति सामना गर्नुपरेको थियो । पहिलो लहरमा गरेका गल्ती सच्याउँदै इटालीले त्यसपछि कोरोनाविरुद्धको रोकथाम अभियान नै चलायो । यसै कारण कोरोनाको दोस्रो लहर चल्दा इटालीमा त्यति असर भएन । इटालियन सरकारले विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम र अनिवार्य भ्याक्सिन नीति लिएपछि यहाँ अहिले कोरोना नियन्त्रणमा छ ।

अहिले पनि संक्रमित र मृत्युदर हिसाबले इटाली युरोकपकै दोस्रो बढी प्रभावित देशको सूचीमा छ । यहाँ अहिलेसम्म ४२ लाख ५८ हजार ६९ जना संक्रमित भएका छन् । पहिलो चरणको लापरवाहीका कारण नै इटालीमा धेरै संक्रमितको निधन भएको थियो । इटालीमा एक लाख २७ हजार चार सय ७२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । इटालीमा ५७ हजार एक सय ६२ जना एक्टिभ केस चलिरहेको छ ।

सरकारले आफ्ना जनतालाई राहत प्रदान गर्न सोमबारदेखि भने घरबाट बाहिर निस्कँदा मास्क लगाउनुपर्ने अनिवार्यता हटाएको छ । यस निर्णयसँगै इटाली मास्क अनिवार्यता हटाउने पहिलो युरोपियन देश बनेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले २० राज्यमा मास्क लगाउनु नपर्ने घोषणा गरेको छ । सरकारले ती २० राज्यलाई कोरोनामुक्त क्षेत्र भनेको छ ।

तपाईको प्रतिक्रिया