काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका लागि अब नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब एमाले अगाडि बढ्ने बताए । उनले भने, ‘जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनु, पर्खिनु पर्दैन ।’

ओलीले सोमबारसम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने चेतावनी दिए । उनले थपे, ‘सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन ।’

एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको उनको भनाई छ । ओलीले भने, ‘एमाले हुनका लागि सही पनि एमाले, मै पनि एमाले हुनुपर्छ । एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने एमाले हुनै सक्दैनौँ । फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता–कार्यकर्ता होइनन् ।’

तपाईको प्रतिक्रिया