काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कार्यान्वयनको अभावमा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ र सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण निम्तिने रोगबाट ग्रसित हुनेको संख्या पनि बढ्दो छ ।

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाउने गरी एक दशकअघि सरकारले कानुन बनाए पनि त्यसको अनुगमन तथा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुने भनेर सुर्तीजन्य ,पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ मा उल्लेख छ । तर उक्त प्रावधानविपरीत सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरु प्रशस्त देखिन्छन् भने उनीहरुमाथि कारवाहीका लागि प्रभावकारी संयन्त्रको विकाससमेत हुन सकेको छैन ।

नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजार जनाको मृत्यु हुने गर्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि कर वृद्धि गर्नुपर्ने सरोकारवालाको भनाइ छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई हालसम्म उक्त ऐनअनुसार सम्बन्धित निकायले कारवाही भएको छैन ।

सरकारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थबाट ३६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्दै आएको छ । सुर्तीजन्य सेवनबाट नेपालमा मिर्गौला, मुटु, कलेजो, मधुमेहका बिरामी बढ्दै गइरहेको छ ।

सुर्तीजन्य पदार्थ प्रयोगका कारण निम्तिने रोगको उपचारका लागि वार्षिक ५० अर्बभन्दा बढी खर्च हुने गर्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार नेपालको कुल जनसंख्याको २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । करिब ८६ लाख ७० हजारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशतमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् ।

वार्षिक रुपमा सुर्तीजन्य पदार्थको प्रयोगमा १ खर्ब ९ अर्ब रुपैयाँ खर्च हुने गर्छ । परिषद्को अध्ययनअनुसार नेपालमा सुर्तीजन्य पदार्थको एकजना प्रयोगकर्ताले मासिक सरदर १ हजार ५० रुपैयाँ खर्च गर्ने गर्छ । अर्थात् एक वर्षमा सुर्तीजन्य पदार्थको एक प्रयोगकर्ताले औसत १२ हजार ६ सय रुपैयाँ खर्च गर्दछ ।

यता विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट विश्वमा बर्सेनि ८० लाख मानिसको मृत्यु हुन्छ त्यस्तै सँगै बस्ने मानिसले सेवन गरेको चुरोटको धुवाँकै असरका कारण निम्तिने रोगबाट बर्सेनि १२ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । – तारा श्रेष्ठ रातोपाटी

तपाईको प्रतिक्रिया