नेपाली महिला आन्दोलनकी अग्रणी महिला नेता साहना प्रधानको ९४ औ जन्मजयन्तीको अवसरमा महिला सुरक्षा दवाब समुहले र्भचुवल माध्यमबाट स्मृति सभा आयोजना गर्यो ।

राणा शासन कालको बन्द समाजमा पनि महिलाले पढ्न र मतदानको अधिकार पाउनु पर्छ भनेर नागरिक आन्दोलनमा सकृय सहभागी भई महिलालाई पढ्ने व्यवस्था मिलाउन सफल राजनीतिक नेतृ साहना प्रधान नेपालको महिला आन्दोलनको इतिहासमा एक महत्वपुर्ण नाम हो ।
२००४ सालमा तत्कालीन राणा शासक पद्म शमशेरको विरोधमा लागेको आरोपमा १५ दिन हिरासतमा पर्नु भएकी सहाना प्रधान नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट अध्यक्ष भई राष्ट्रिय स्तरको पार्टीको अध्यक्ष हुने प्रथम महिला हुन।

उहाँ नेपालमा जन्मेर बर्मामा हुर्किनु भएको थियो । उहाँको परिवार व्यापार व्यवसायका लागि बर्मा गएको र परिवार बर्मामै हुँदा दोस्रो विश्वयुद्ध भएको थियो । दोस्रो विश्वयुद्धलाई सहाना प्रधानले प्रत्यक्ष देखेको र सोही समयमा उहाँको परिवार अढाई महिना हिंडेर नेपाल आईपुगेको थियो।

नेपालमा बुबाको पुख्र्यौली घर असन रहेको र उबेलाको नेपाली समाजमा छोरीले पढ्न हुदैन भन्ने मान्यता बिपरित अध्ययनको निम्ति परिवारको सहयोगमा भारत पुग्नुभयो ।

तत्कालीन समयमा साहना प्रधान , स्नेहलता, कामाक्षादेवी, श्रीमाया, कनकलता, गरि पाच जना महिलाले पद्म शमशेरको अधि गएर महिलाले पनि पढ्न पाउनुपर्छ भनेर गरेको आन्दोलनले दरबार हाई स्कूलमा बिहानको समयमा बालिका शिक्षा व्यवस्था गर्न राणा साशकहरु बाध्य भएका थिए ।

विद्रोही, भावुक, सहज स्वभावकी साहना प्रधानले एक दशक भन्दा बढी समयसम्म काठमाडौंंको पद्म कन्या कलेजमा २०१९ सालदेखि २०३० सम्म र त्यसैगरि २००७ सालदेखि २०१२ सालसम्म कन्या मन्दिर र सीताराम हाई स्कूलमा अध्यापन गर्नुभयो त्यसैगरि २०१३ देखि २०१८ सम्म प्राथमिक शिक्षक प्रशिक्षणमा प्रशिक्षकको रुपमा रहनुभयो ।

२०३२ सालमा विद्यार्थी आन्दोलनलाई सहयोग गरेको आरोप लगाएर त्रिविविको प्राध्यापन पेशाबाट हटाइयोे । राजनैतिक कारणले पटक पटक जेल जीवन भोगेकी प्रधान अखिल नेपाल महिला संघको अध्यक्ष पनि हुन । त्यस्तै २०४६ सालको जन आन्दोलनमा आठ वटा वामपन्थी पार्टीहरुको संयुक्त मोर्चाको अध्यक्ष र प्रजातन्त्र पुन स्थापना पश्चात गठित अन्तरिम मन्त्री मण्डलमा उद्योग तथा वाणिज्य मन्त्री हुनुभयो ।

प्रजातन्त्रपछि पहिलो आम चुनावमा उहाँ नेपाल भरमै सबैभन्दा बढी मत प्राप्त गरी काठमाडौंं क्षेत्र नं ४ बाट निर्वाचित हुनुको साथै त्यसपछिको आम चुनावमा पनि उहाँ विजयी हुनु भएको थियो ।

नेकपा एमालेको नेपालगञ्जमा सम्पन्न छैठौं अधिवेशनको समयमा पार्टी फुटेपछि उनी नेकपा मालेको अध्यक्ष हुनुभयो । तर पार्टी एकतापछि उनी नेकपा एमालेको स्थायी समितिको एक बरिष्ठ सदस्य हुनुभएको थियो ।

कार्यक्रममा प्रधानको छोरा उमेश लाल श्रेष्ठले सभालाई सम्बोधन गर्दै भन्नुभयो तपाईहरुको लागि उहाँ सहना प्रधान होला, मेरी त आमा हुनुहुन्थ्यो । आमाको स्वाभाव फरक खालको राजनीति गर्ने थियो । देशको लागि जति ठूलो संघर्ष गरे पनि पार्टीले न आमा सहानालाई सम्झ्यो, न बुबा पुष्पलाललाई सम्झ्यो ।’

तपाईको प्रतिक्रिया