काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ भमरपुराकी २७ वर्षीया सुजिता ठाकुरलाई दाइजोको निहुँमा आफ्नै परिवारले निर्ममतापूर्वक हत्या गरेको घटनाप्रति चेन्ज एक्सन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चेन्ज एक्सन नेपालकी अध्यक्ष इन्दिरा घलेले प्रेस विज्ञप्तिमार्फत सुजिताको हत्यामा संलग्नलाई कडाभन्दा कडा कार्वाहीको माग गरेकी छन् ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ,

प्रेस विज्ञप्ति

मितिः २०७८ असार ३० गते

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नम्बर ४ भमरपुराकी २७ वर्षीया सुजिता ठाकुरलाई दाइजोको निहुँमा आफ्नै परिवारले निर्ममतापूर्वक हत्या गरेको घटनाप्रति चेन्ज एक्सन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । २०७८ जेठ २० गते बिहानदेखि घरबाटै बेपत्ता भइन् भनिएकी सुजिताको शव सडेगलेको अवस्थामा यही असार २७ गते आफ्नै घरदेखि करीब १ किलोमिटर दक्षिण तर्फ रहेको काठको गोलियाहरु राख्ने चिरान गोदामको निर्माणाधिन सेफ्टि ट्याङकीमा फेला पारेको छ ।

सुजिता बेपत्ता भएपछि उनका सासूससुरालगायत परिवारले उनी कुनै परपुरुषसँग भागेको भनि हल्ला फैलाएका थिए । उनीहरुकै कुरालाई आधार मानेर प्रहरीले पनि सुजिताका माइती पक्षको किटानी जाहेरीसमेत दर्ता गरेको थिएन । सामाजिक अभियन्ता सरोज राय र माइती पक्षले सुजिताको हत्या गरी शव गायब गरिएको र हत्यामा उनकै सासुससुरा र देवर रहेको भन्दै निरन्तर किटानी जाहेरी दर्ता गरी अनुसन्धान शुरु गर्न प्रहरीलाई दबाब दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धानमा ध्यान दिएको कुराले शान्ति सुरक्षा कायम गर्ने र जनताको जिउ धनको सुरक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको नेपाल प्रहरीको भूमिकाप्रति सर्वत्र गुनासोसहित प्रश्न उठेको छ ।

सुजिताको बिहे दश वर्ष पहिला पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो । यो बीचमा सुजिताका देवरले उनीमाथि पटकपटक हातपातसमेत गर्दै आएको थाहा भएको छ । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार करिब १४–१५ महिना पहिले पनि सुजितालाई ससुरा, श्रीमान्, सासू र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो । परिवारले प्राय दाइजो कम ल्याएको निहुँमा उनीमाथि कुटपिट गर्दै आएको थियो । त्यस घटनामा सुजिताले प्रहरीलाई निवेदनसमेत दिएकी थिइन् । पछि श्रीमान् र देवरले आइन्दा कुटपिट नगर्ने लिखित शर्त गरेपछि प्रहरीले छोडेको थियो । छोरीले आफूमाथि परिवारले गरिरहेको अन्याय बारे बेलाबेला भनिरहँदा पनि आफूहरुले छोरी मान्छेले सहनुपर्छ, घर छोड्न् हुन्न भन्दै सम्झाइबुझाइ गरी घर नछोड्न अनुरोध गर्दाको परिणाम अहिले छोरी गुमाउनु परेको भन्दै सुजिताका आमाबुबाले बिलौना गरिरहेको कुराले नेपाली विवाहित छोरी मान्छेको अवस्थालाई चित्रण गरिदिएको छ । बुहारी भएर अर्काको घरमा गइसकेपछि जस्तोसुकै दुःख पनि सहनुपर्छ भन्दै यदि सुजिताका बुबाआमाले यातना दिने परिवारविरुद्ध आवाज नउठाउन छोरीलाई दबाब नदिएको भए, तिमीले अन्याय सहनु हुन्न, तिम्रा लागि हामी छौँ, तिम्रो अधिकारका लागि तिमी बोल्नुपर्छ भनि ढाडसमात्रै दिएको भए सायद आज सुजिताले अकालमै ज्यान गुमाउनु पर्थेन । उनकी ९ वर्षीया छोरी र ५ वर्षका अबोध बालकले आमा आमा गुमाउनु पर्थेन । यस घटनाबाट छोरी मान्छेले अन्याय सहनुपर्छ, बोल्नु हुन्न भन्ने गलत मान्यतालाई कुनै पनि आमाबुबाले प्रोत्साहन गर्नहुन्न भन्ने पाठ पनि सिकाइदिएको छ ।

सुजिताको घाँटी च्यापेर हत्या गर्ने मुख्य दोषी देवर २९ वर्षीय रुपेश ठाकुर, सुजिताको लास लुकाउन सहयोग गर्ने सोही ठाउँ बस्ने बन्ठा भनिने ३७ वर्षीय किशोरी मण्डल, मुल्ला भनिने ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई प्रहरीले सार्वजनिक गरेको छ भने तत्काल अनुसन्धानको क्रममा पक्राउ परेका मृतकका पति ३१ वर्षीय मुकेश ठाकुरलाई घटनामा संलग्नता देखिने आधार नपाइएको भन्दै प्रहरीले थुनामुक्त गरेको छ । सुजिताकी सासू, ससुरा पतिराम र देवरानी रोमा भने फरार छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ ।

यस घटनाका मुख्य दोषीसहित घटनामा संलग्न अन्यलाई कानुन बमोजिम कडाभन्दा कडा कार्वाही गर्न चेन्ज एक्सन नेपाल जोडदार माग गर्दछ । कानुनले नै बन्देज गरेको दाइजो प्रथाका कारण भएको सुजिताको हत्याले नेपालमा अहिले पनि हजारौं महिलाहरु दाईजोका कारण चरम यातनासहित अकालमै ज्यान गुमाउन बाध्य भइरहेको कुरालाई उजागर गरेको हुँदा दाइजो प्रथा हटाउने खालका प्रभावकारी अभियानहरु संचालन गर्न पनि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

इन्दिरा घले
अध्यक्ष
चेन्ज एक्सन नेपाल

 

तपाईको प्रतिक्रिया