वीरेन्द्र रावल

धनगढी, असार २९- सुदूरपश्चिम प्रदेशको प्रमुख सीमानाका गौरीफन्टामा भारत जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसंगै नेपाल भित्रिएकाहरु पुनः भारत जाने क्रम बढ्दै गएको हो ।
भारतमा कोरोना संक्रमण घट्दै गएपछि नेपालीहरु रोपाइँ सकेर रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दै गएको छ ।
सोमबार गौरीफन्टा नाकामा भारत जाने नेपालीहरुको भीड देखिन्थ्यो । उनीहरु तीन हजारदेखि तीन हजार पाँच सयको संख्यामा भारत जानका लागि गौरीफन्टा सीमानाकामा लाइनमा बसेका देखिन्थे ।
त्यस्तै लाइनमा भेटिएकी बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ४ ऋला घर भएकी धौली रावतले कोरोना संक्रमण घट्दै गएपछि रोजगारीका लागि भारतको चण्डीगढ जान लागेको बताउनु भयो । उहाँले भन्नुभयो— कोरोना महामारीले साँझबिहानको हातमुख जोड्न समस्या भएपछि भारत जाँदै छु ।
उहाँले घरमा बुढा आमाबुबा रहेको र साँझबिहानको हातमुख जोड्न समस्या भएपछि आफू भारत जान बाध्य भएको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो— बुबाआमाले ज्याला मजदुरी गरेर साँझबिहानको छाक टारिन्थ्यो । तर पछिल्लो समय कोरोनाले सबै काम खोसिदियो । कोरोनाले हामी जस्तो गरिखाने वर्गलाई छाक टार्नपनि समस्या बनाएको बताउँदै आफू भारत जान लागेको पीडा व्यक्त गर्नुभयो ।

सरकारले आफूहरुको लागि कुनै पनि किसिमका युवा लक्षित कार्यक्रम नल्याएको र नेपालमा रोजगारी नपाएपछि भारतको मुम्बई जान लागेको बताउँदै गोदावरी नगरपालिका वडा नम्बर ३ इट्टा भट्टी घर भएका शंखर तिखातरीले भारत जान मन नभई नभई पनि जान बाध्य भएको दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो— घरमा तीन जना भाईबहिनी र आमा हुनुहुन्छ । भाईबहिनीलाई पढाउनको लागि म भारत जान लागेको हुँ । यदि सरकारले सीमान्तकृत समुदायका बालबालिकालाई पहुँचमा पुर्याउने खालका कार्यक्रमहरु ल्याएको भए नेपालमा केहि नभएपनि खेति किसानी गरेर बसिन्थ्यो । तर के गर्नु सरकारलाई हाम्रो वास्ता नै छैन । जसले गर्दा भारत जान बाध्य भएको छु ।
यी त उदारणका पात्र मात्र हुन, यस्ता थुप्रै नेपाली युवाहरु छन । जो नेपालमा रोजगारी नपाउँदा भारतका विभिन्न शहरहरुमा जान बाध्य भएका छन ।
पछिल्लो दुई सता यतादेखि गौरीफन्टा सीमानाकाबाट दैनिक तीन हजारी भन्दा बढीको संख्यामा भारत जाने गरेको विओपी त्रिनगरले जानकारी दिएको छ । अहिले नेपाल भित्रिने भन्दापनि भारत जानेको संख्या बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया