काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भएको छ ।

आज शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्देशन दिएको हो ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणमा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बस्नेत नेतृत्वको टोलीले शुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।

बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ ।

बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६–१९ गतेका लागि तोकिएको छ ।

तपाईको प्रतिक्रिया