तीसको दशकको अन्त्यदेखि नेपाली कविता लेखनमा सकृय कवि, नियात्राकार, अनुवादक नन्दु उप्रेतीको जन्म २०२३ साल असार १५ गते इलाम जिल्ला फुँलगाछीमा भएको हो । हालसम्म उहाँको फेवादेखि विवासम्म (नियात्रा (२०५६), हामी साना लालाबाला (बाल कविता संग्रह(२०६०), साना साना पुतली (बाल कविता संग्रह(२०६०), हृदयको ज्योति (अनुवाद ( कथा(२०६५) प्रकाशीत छ र हाल उहाँ प्राज्ञ सभा सदश्य हुनुहुन्छ ।
रजस्वला मेरो जीवनको ज्योति

यो सृष्टि श्रृङ्खलाको नायक हुँ म
महानायक हुँ
यही महानताको धरोहर उठाइराख्ने
रजस्वला मेरो पौरख हो
मेरो गौरव हो
रजस्वला मेरो शक्ति हो ।

मस्तिष्क नुहाउँछ मेरो
मेरै रजस्वलाको धारामा
मेरा रगतका नशाहरू नुहाउँछन्
मेरै रजस्वलाका झरनामा
मेरो गर्भाशय नुहाउँछ
मेरै रजस्वलाको तलाउमा
मेरा विचार र विवेकहरू नुहाउँछन्
पौडदै मेरै रजस्वलाका पोखरीमा
मेरो शक्ति, सामथ्र्य र तेजहरू नुहाउँछन्
डुबुल्की मार्दै मेरै रजस्वलाका सागरमा
म गर्वले उचालिन्छु
संसारमै सबैभन्दा माथि पुग्ने गरी
र ग्रहण गर्छु संसारको सबैभन्दा ठूलो विजय ।

रजस्वला मभित्र जलिरहन्छ
रजस्वला बलिरहन्छ मभित्र
आफू जल्दै र बल्दै
मलाई यो ब्रम्हाण्डको शिरमाथि
झलमल झलमल पारिरहने
रजस्वला !

मेरो जीवनको ज्योति हो
रजस्वला
मेरो जीवनको मोति हो ।

प्रश्न

जब त्यो ठूलो घण्टको आवज
झङ्क्रित हुन्छ मन्दिरको मूल ढोकामा
मेरा जिज्यूबाजेदेखि मसम्मको
जीवन सुसाउँछ
मेरा अङ्ग अङ्गमा
नदीजस्तै बग्दै बग्दै ।

पुजारी बाजे
हजुरले सबेरै बजाउने घण्ट
मेरा जिज्यूबुबाले बनाएका हुन् नि
पुस्तौ पुस्तासम्म पनि
कति मधुर, कति प्रिय आवज !

मन्दिरलाई सुम्पिएर त्यो घण्ट
मेरा जिज्यूबुबा पर डिलमा
परालको मुठोमाथि बसे
हजुरका बाजे, जिज्यूबाजेहरूले
पटक पटक घण्टलाई ढोगेको,
अक्षता र फूलले पुजेर
त्यसलाई पवित्र पारेको हेरिरहे
साँझ परेपछि
पातमा पोको पारेर हर्याईदिएको
अलिकति प्रसाद बोकेर
घर फर्किएका थिए उनी
आफ्नै बाबुले कुँदेकी
मन्दिरभित्रकी महादेवीलाई सम्झदै सम्झदै ।

साँझमा हजुरले
मन्दिरका चारकुनामा बत्ती बाल्ने दियोहरू
मेरा हजुरबाले जोडेका हुन् नि
तिनै दियोहरूले मन्दिर झलमल्ल देख्दा
उज्यालो ज्योति जगमगाएछ उनको मनभित्र पनि
खुसीले पागल झै भएछन्
बिर्सिएछन् आफ्नो औकात र पुगेछन्
दियोहरूलाई झण्डैझण्ढै सुमसुम्याउन
बाजे थाहा छ हजुरलाई
त्यसबेला भक्त र पुजारी गुरुहरूले
लामो लठ्ठीले धपाएका थिए नि मेरा हजुरबालाई ।

महादेवीको शिरको ताज र घाँटीको हार
मेरै बाले बनाएका हुन्
आफ्नै हातले कुँदेका गहनाले
धपक्कै बलेकी महादेवीको दर्शन गर्न
ढोकाभित्र मुन्टो निहुराएर घोप्टिदा
हजुर पनि त्यही हुनुहुन्थ्यो नि बाजे
भित्रबाट घण्टीको झटारो
कसले पो हानेको थियो ?

तप् ! तप् ! झरिरहेका
रगतका थोपाहरू पुस्दै
पाती माडेर बाको घाउमा लगाउँदाको बास्ना
अझै मेरा हातहरूमा मगमगाइरहेको छ
टाउकाको चोटले बेसुरा भएका मेरा बालाई
देवीको श्रापले बौलायो पनि त भनियो !
मेरा बा निको नभइ मर्दा
पापले नै मर्यो पनि त भनियो ।

मेरी नातिनी आज रुँदै
मेरो आरन छेउमा आएर भन्छे
“हजुरबा मलाई कक्षामा सँगै नबस् भन्छन्
मलाई मन्दिरमा पनि नपस् भन्छन्
धारामा पानी खान पनि सँगै नआइज भन्छन् ।”

बाजे !
समय त धेरै अगाडि बढिसक्यो भनेको हैन र ?
तर किन समय मेरा पुर्खादेखि
मेरी नातिनीसम्मको छेकाबारलाई
हामीसँगै राखेर अगाडि बढ्यो ?
अब समयलाई रोकेर मिलाउनै पर्ला नि यो मुद्दा !

बोल्नुहोस्न बाजे किन चूप लाग्नुभाको ?

मेरी प्रेमिका

तिमी मेरी प्रेमिका
असाध्यै माया लाग्छ तिम्रो ।

दृष्य र अदृष्य हत्कडीहरूले
मेरा हातहरू बाँधिएका बेला
त्यस्तै नेलहरूले
मेरा पाउहरू बाँधिएका बेला
मेरो मन, मस्तिष्क र चेतनालाई
विक्षिप्त वेगमा अन्जान सडकमा दौडाइरहेको बेला
ठीक त्यसैबेला
मेरी प्रेमिका
तिमी जीवन र उज्यालोको अर्थ बोकेर
मलाई आलिङ्गन गर्न आइपुग्छ्यौ
नयाँ युगको आभास लिएर ।

श्रमवीरहरूका नायक
प्रिय स्पार्टाकसकी पनि तिमी प्रेमिका
बलभद्र कुँवर र भिमसेन थापा तिम्रा उपासक भए
खलिल जिब्रानले पनि तिमीलाई असाध्यै माया गरे
महात्मा गान्धीले तिम्रै छेउमा बसेर
लेखे आफ्नो जिन्दगीको लामो कथा
महाकवि देवकोटाले पागल लेखिरहँदा
तिम्रो प्रेम अपार थियो उनका लागि
नेल्सन मण्डेलासँगै बितायौ तिमीले
उज्यालो पनि नदेखिएका दशकौं दिन र रातहरू
विशेश्वरप्रसाद कोइरालाले तिमीसँग खूब रमाउँदै
बनाए आफूलाई सधैँ बाँचिरहने विशेश्वरप्रसाद कोइराला ।

यो धर्तीका मान्छेहरूका लागि
उज्यालो बोकेर आउने
प्रत्येक प्रमिथसले प्रेम गरे तिमीलाई ।

अहिले मसम्म तिमी आइपुग्दा
म तिम्रो अन्तिम प्रेमी हुन चहान्छु
तर हेर न प्रिय
ऊ ती आउँदै गरेका नानीहरूले
तिमीलाई नै पर्खिरहेका त हैनन् !
म यहाँ छटपटाइरहेको छुँ
म तिम्रो अन्तिम प्रेमी बन्न सकूँ
म सकूँ सिद्धिन तिम्रो अन्तिम प्रेमी भएर ।

यातना,
तिमी मेरी प्रेमिका
कृपया मलाई तिम्रो अन्तिम प्रेमी बनाऊ ।

यातना,
असाध्यै माया लाग्छ तिम्रो
तिमी मेरी अन्तिम प्रेमिका बन
म तिम्रो अन्तिम प्रेमी बन्छु ।

तपाईको प्रतिक्रिया