काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूहले ‘महिला हिंसा तथा यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असर’ बारे प्रदेश स्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ ।

समूहले मंगलबार प्रदेश नम्बर २ स्तरीय भर्चुअल कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशमा हुने यौनजन्य हिंसा र त्यसबाट प्रभावितहरुको न्यायमा पहुँच सम्बन्धमा छलफल गरेको हो ।

छलफलमा कानुन व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, अधिकारकर्मी, सर्वसाधारणलगायत एकल महिलाहरुको उपस्थिती रहेको एकल महिला समूहका २ नम्बर प्रदेशका अध्यक्ष अनिता देवकोटाले जानकारी दिइन् ।

कार्यक्रममा सप्तरी जिल्लाका इन्सेक जिल्ला प्रतिनिधि मनोहर पोख्रेलले ‘यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असरहरु’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै यौनजन्य हिंसाबाट प्रभावितहरुले सहजै न्याय नपाएको कुरामा जोड दिए ।

पछिल्लो समयमा देशभर यौनजन्य हिंसाका घटना बढ्दै गए पनि त्यस्ता घटनाबाट प्रभावित महिला तथा बालिकाले सहजै न्याय पाउन नसकेको भन्दै मानव अधिकारको लागि महिला एकल महिला समूहले यौनजन्य हिंसाको अवस्था बुझ्न र प्रभावितको न्यायका लागि राज्यको ध्यानाकर्षण गर्न सातोटै प्रदेशमा छलफल कार्यक्रम आयोजना गर्न लागेको एकल महिला समूहका कानुन विभागका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया