एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रह अनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए ।

रावलले राजीनामा दिनुको यस्तो छ कारण ?

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए । रावलले राजीनामा बारेको जानकारी सभामुखलाई समेत जानकारी गराइसकेका थिए ।

तर राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया