काठमाडौँ । यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको साँचो बुझाएका हुन् ।

महासंघको अगुवाइमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज पनि आवद्ध थिए । यातायात व्यवसायी चाबी बुझाउन माइतीघरदेखि सवारीसाधनको र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नै ज्ञापनपत्रसहित सरकारलाई साँचो बुझाइएको महासंघका अध्यक्ष डोलनाथ खनालले बताए । पहिलो चरणको चाबी बुझाउने कार्यक्रम सकिएको उनले जानकारी दिए । महासंघले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ ।

ज्ञापनपत्रमा यातायात व्यवसायी, मजदुर र कर्मचारीलाई खोपको व्यवस्था र सवारी दुर्घटना भएमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, वैज्ञानिक भाडा नीति २०६५ अनुसार भाडा समायोजन गर्नुपर्ने र पर्यटन यातायातको भाडा तोक्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने, कोभिड अवधिको बीमा पुर्ण समायोजन हुनुपर्ने, कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनतालिकीकरणसहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने र दुई वर्षसम्मको सवारी नविकरण कर छुट दिनुपर्ने, सडकसम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने यातायात व्यवसायीको माग छ ।

तपाईको प्रतिक्रिया