प्रधानमन्त्री शेरबहादुर देउवाले सामान्य छलफल नै नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ ।

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय सुझाव कार्यदललाई थाहै नदिई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर कार्यदलले सरकारलाई राय सुझाव दिने भनिए पनि आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा कार्यदललाई पत्तो नै नदिएपछि कार्यदलमा असन्तुष्टि देखिएको हो ।

खड्का नेतृत्वको कार्यदलको सदस्यमा काँग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन। त्यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव कार्यदलमा छन ।

निजी विद्यालयका सञ्चालकसमेत रहेका श्रेष्ठलाई देउवाले राज्यमन्त्री बनाएसँगै सत्तारुढ गठबन्धनमा जस्तै आम जनसमुदायमा पनि प्रश्न उठेको छ । देउवाले गण्डकी प्रदेशमा दलित नेतालाई बाइपास गरेर ठेकदारलाई मन्त्री बनाएको चर्चा चलिरहेकै बेला घरानियाँ व्यवसायीलाई प्राथमिकता दिइएको भन्दै देउवा सरकारमाथि आलोचना भएको छ ।

तपाईको प्रतिक्रिया