काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ । आज सोमबार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले यादव पक्षलाई आधिकारिकता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारीकता भने उपेन्द्र यादव पक्षलाई दिने इजलासले निर्णय गरेको हो ।

५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले आयोगमा उपस्थित भएर सनाखत गरेका थिए । यस्तै, महन्थ ठाकुरका पक्षमा १६ जना सदस्यले समर्थन गरे भने निलम्बित सांसदसमेत रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसे ।

उनलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट आयोगकमा झिकाइएको थियो । उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन नियत र नैतिकताले नदिएको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यादव पक्षलाई पर्खंदा मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लगाएसँगै अब सरकारमा जानेछ ।

तपाईको प्रतिक्रिया