२८ जुलाई, अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ मौलिक पर्व सिसेक्पा तङ्नाम हर्षोल्लासका साथ मनाएको छ ।
जुलाई २४ मा कुइन्स बृज पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता,  आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङको विशेष आतिथ्यता तथा एनआरएनए न्युयोर्कका अध्यक्ष आङछिरीङ शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।

भव्य र सभ्य रुपमा मनाईएको सिसेक्पा तङ्नाम कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । बिभिन्न संघ संस्थाका नेतृत्व, प्रतिनिधि, बुद्धिजीवी जनसमुदाय लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा कनेक्टिकट, न्यूजर्सी, मेरिल्यांड, एरिजोना, टेक्सासबाट आएका नेपालीहरुको उपस्थिति रहेको थियो ।

पृथ्वीको जुनसुकै भूगोलमा बसे पनि आफ्नो संस्कार संस्कृति, भाषा, धर्मको संरक्षण र प्रबर्द्धन गर्न हरेक नागरिक जागरुक पुर्वक लाग्नु पर्दछ भन्ने सन्देश दिन यो पर्व मनाइएको कुरा चुम्लुङ्का अध्यक्ष सुमन थाम्सुहाङ्ले बताए।
विगत ५,०८१ वर्ष अघि देखि  मनाउँदै आइएको पर्वलाई प्रवास अमेरिकामा निरन्तर मनाइने कुरा अध्यक्षले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया