काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले यही साउन १६ गते शनिबार संसदीय दलको नेता छान्न चुनाव गर्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । आज विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता छान्न चुनाव गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको जसपाका एक नेताले बताए ।

तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदी र अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाईराखेको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् ।

प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । देउवा सरकारमा उपप्रधान पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो ।

तर, विहीबारको बैठकले मन्त्रीहरुको नाममा सामान्य छलफल गरे पनि टुंगो लगाएको छैन । बुधबारकै बैठकले मन्त्री छान्ने जिम्मा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईलाई दिएको छ ।

तपाईको प्रतिक्रिया