काठमाडौं । संसदीय समितिले दक्षिण कोरिया रोजगारीमा जानका लागि इपिएस भाषा परीक्षा पास गरेर बसेका नेपाली कामदारलाई तत्काल पठाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपिएस भाषा परीक्षा पास गरेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको हो । इपिएस भाषा परीक्षा पास गरेर बसेका करिव १० हजार नेपाली कामदारले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको यस्तो निर्देशन दिइएको समितिले जनाएको छ ।

समितिले उजुरीको सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरेर तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

बैठकमा इपिएस परीक्षा पास गरेका कामदारलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यले सरकारको चर्को आलोचना गरेका थिए ।

समितिका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरी इपिएस परीक्षा उर्तिण गरेका कामदारलाई छिट्टै दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले कोभिड संकटका कारण उनीहरुले समयमै कामका लागि दक्षिण कोरिया जान नसकेको पनि समितिका सदस्यलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया