काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयले चर्चा पायो । बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले यो विषयलाई महत्वका साथ उठाए ।

बैठकमा प्रतिपक्षी दल एमालेका सांसदहरूले यो घटनालाई लिएर सरकार निरीहरूपमा प्रस्तुत भएको आरोप लगाए । कांग्रेस संसदहरूले चाहिँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापन गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेको भन्दै वर्तमान सरकारको बचाउ गर्न खोजे ।

बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री बालकृष्ण खाणले सो घटनाका सम्वन्धमा सरकारले गरिरेको अनुसन्धान प्रक्रियाबारे जानकारी दिएका थिए । तर, उनले कतै पनि घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीलाई जोडेनन् । बरु बेपत्ता धामीको खोजतलासमा एसएसबीले पनि सहयोग गरिरहेको बताए ।

घटनाबारे छानविन गर्न सरकारले बनाएको छानविन टोली घटनास्थलतर्फ प्रस्थान गरेको भन्दै गृहमन्त्री खाणले अहिलेसम्म मृत्यु भएको वा जीवित रहेको केही पत्ता नलागेको बताए ।

यस घटनालाई लिएर सरकारले भारतसँग कुनै कूटनीतिक पहल गरेको उनले जानकारी दिएनन् । बरु जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट भारतीय पक्षमा पत्राचार भएको भनेर टारे ।

गृहमन्त्रीको प्रस्तुतिपछि एमालेका सांसदहरु झन् आक्रामक बनेका थिए । सांसद शान्ता चौधरीले प्रत्यक्षदर्शीको बयान आइसक्दा पनि सरकारले सत्यतथ्य लुकाउन खोजेको आरोप लगाइन् ।

सांसद खगराज अधिकारीले सरकारको प्रस्तुति हेर्दा जयसिंह धामी तुइन आफैं चुँडिएर खसेको भन्न खोेजिएको जस्तो देखिएको भन्दै यसलाई राष्ट्रिय स्वाभिमानविपरीत रहेको ठोकुवा गरे ।

तपाईको प्रतिक्रिया