धरान । आनन्द श्रेष्ठ । नेपालमा कोरोनाको कहर व्यापकरुपले बढि रहेको बेला नेपालका विकट दुर्गम गाउ तथा शहरका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरी हङकङ नेपाली महासंघले दोश्रो खेप पठाएको सय थान अक्सीजन कन्सन्ट्रेटरहरु पनि पुर्वी नेपालको विभिन्न जिल्लामा वितरण हुन थालेको छ ।
कोरोना संक्रमित गम्भिर विरामीहरुका लागी प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उद्धेश्यले महासंघले पठाएको दोश्रो चरणको सय थान अक्सिजन कन्सन्ट्रेटरहरु स्थानीय गैर सरकारी संस्थाहरु मार्फत पुर्वको ईलाम, संखुवासभा, भोजपुर,तेह्रथुम,झापा, सुनसरी, मोरङ्ग लगायत विभिन्न जिल्लाहरुमा पुर्याउने काम थालिएको छ ।

एउटा टोलीले लुम्विनीको विभिन्न स्वास्थ्य चौकीहरुमा वितरण गरिरहेको छ भने

अर्को टोलीले शनिवार मात्र ईलामको फिक्कलस्थित पि एच सी र चाखेजुङ स्वास्थ्य चौकीमा वितरण गरेकोछ । यसै गरी पाँचथरको ओयाम स्वास्थ्य चौकी र अमरापुर स्वास्थ्य चौकिमा पनि हिजै अक्सिजन कन्सन्टेटरहरु वितरण भएको कुरा हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले बताए । सोमवार नै सो टोलीले धनकुटाको हिले र डाँडावजारको प्राथमिक स्वास्थ्य चौकी मा एक – एक थान अक्सिजन मेशिन वितरण गरेको छ । अविरल वर्षाको मौसम भएकोले ज्यादै कठिनाईपुर्वक सो अक्सिजन कन्सन्टेटरहरु गाउँ – गाउँ पुर्याईरहेको स्वयम सेवक युवराजले बताए । उनी भन्छन धेरै ठाउँमा त गाडी फसेर विग्रीए भोक भोकै बाटोमा बास बस्दै अक्सिजन सकुसल पुर्याएका छौं ।

नेपालमा कोरोना संक्रमणको तेश्रो लहर आउने सुनिश्चित जस्तो भैसक्दा पनि सरकारबाट प्रभावशाली उपकरणहरु उपलव्ध गराउन नसकेको अवस्थामा विदेशमा बस्ने एउटा संस्थाले आफनै गाउँघरमा ल्याएर अक्सिजन जस्तो मृत्युको मुखबाट फर्काउने सामान ल्याई दिएर हामीलाई हङकङ नेपाली महासंघले ठुलो गुन लगाएको कुरा तेहथुम स्थित लाली गुराँस नगर पालिकाका नगर प्रमुख अर्जुन मावोहाङले खुसी व्यक्त गरे । सोही दिन कार्यक्रम सकेर ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघु स्वास्थ्य चौकी र फक्तालुङ गाउँपालिका स्थित सिवां स्वास्थ्य चौकिमा वितरण कार्य सम्पन्न गरी टोली आजै झापा फर्किएको कुरा अध्यक्ष राना ले जानकारी दिए ।

यस अघि सय थान अक्सिजन कन्सन्टेटरहरु पश्चिमका दुर्गम गाउँका स्वास्थ्य चौकीहरुमा महासंघले आफैले वितरण गरेको थियो । १० लिटर प्रति मिनेट आफै अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्टेटर वितरण चाँडो गर्न प्रत्येक प्रदेशका लागि ढुवानी ट्रकको पनि व्यवस्था महासंघ आफैले गरेको अध्यक्ष रानाले बताए । चीनको कुनमिन शहरबाट प्रति कन्सन्टेटर १ हजार १ सय ५० अमेरीकन डलरमा खरीद गरीएको सो अक्सिजन एउटैको तौल ३० केजी रहेकोले एकै पटक कार्गो गर्न अप्ठयारो परेकोले दुई चरणमा नेपाल पठाउनु परेको कुरा अध्यक्ष रानाले बताए ।
महासंघकी निवर्तमान अध्यक्ष समेत रहेकी हेल्प नेपाल फाईट कोभिड १९ कार्यक्रमकी संयोजक रीता गुरुङले नेपालमा कोरोनाबाट संक्रमितको मृत्युदरमा सोचे जस्तो कमी नआएकाले महासंघले हङकङ सरकार, नेपाली वाणिज्य दुतको कार्यालय र सोअर्स नामक एक गैर सरकारी संस्था बीच समन्वय गरेर सो अक्सिजन दिने मेशिनहरु नेपाल पठाएको हो । आफनो मतृभूमीलाई अप्ठयारो परेको बेला अक्सिजन उपलव्ध गराउने हङकङको चिनियाँ सामाजिक संस्था शोअर्सलाई धन्यवाद दिदै अर्को चरणमा १ लाख एन्टिजेन टेष्टिङ किट पनि पठाउने तयारी भईरहेको गुरुङले बताईन ।

तपाईको प्रतिक्रिया